अनेरास्ववियुको साखलाई जोगाउन, वैचारिक र व्यवस्थित संगठन निर्माण गर्न मेरो उम्मेदवारी -जेनिस लामा, सचिवालय सदस्यका उम्मेदवार जेनिस लामा नेपाली विद्यार्थी राजनीति चिरपरिचित नाम हो । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन भित्र उनको खुबै चर्चा हुने गर्छ । jenish lama वि.स. २०४५ साल असोज १४ गते काभ्रेपलाञ्चोक जिल्लाको चापाखोरी गाविसस्थित वडा नं. ६ मा जन्मिएका लामाको अनेरास्ववियुलाई जोगाउन समेत निकै ठूलो देन रहेको छ । स्थानीय नारायणस्थान माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा विद्यालय प्रारम्भिक कमिटिको सचिवबाट राजनीतिको सुरुवात गरेका लामा हाल अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन् । ०६२÷०६३ को आन्दोलन चल्दै गर्दा उनी एसएलसी दिँदै थिए । आफ्नो भविष्यसँग जोडिएको पढाईलाई भन्दा विद्यार्थी आन्दोलनलाई केन्द्रविन्दुमा राखी उनी तत्कालीन १ नम्बर क्षेत्रीय कमिटिको कोषाध्यक्षको हैसियतले आन्दोलनमा होमिए । विद्यार्थीहरुको विश्वास जित्न र चर्चा कमाउन सफल लामाले काभ्रेका विकट बस्तीहरुमा पुगेर संगठन विस्तार गर्न समेत भ्याए । माओवादी विद्यार्थी संगठन र युवा दस्ताको प्रभाव र दबाबले संगठन विस्तारमा निकै कठिनाई रहेको जिल्लाको कोशीपारी र डाँडापारी क्षेत्रलाई छिचोल्दै संगठन विस्तार गर्ने काम समेत उनै लामाले गर्न सफल भएका थिए । अनेरास्ववियिु काभ्रेको २६ औँ अधिवेशनबाट जिल्ला अध्यक्ष भएका लामाले ४४ महिना सफल जिल्लाको नेतृत्व हाँकेका थिए । त्यसैको सफलता स्वरुप भन्नुपर्छ हाल उनी अनेरास्ववियु काभ्रे जिल्ला कमिटिको विद्यार्थी इन्चार्ज समेत छन् । विद्यार्थी राजनीतिलाई व्यवस्थित बनाउन, घट्दै गएको अनेरास्ववियुको साख जोगाउन र वैचारिक र व्यवस्थित संगठन निर्माण गर्न भन्दै उनले अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सचिवालय सदस्यमा उम्मेदवारी दिँदै छन् । आफ्नो कार्यकालमा काभ्रेका अनेरास्ववियुलाई निकै नै व्यवस्थित बनाउन सफल उनै लामासँग नेपाली हडेलाइन्सका लागि बुद्ध लोप्चनले गरेको कुराकानीको सम्पादित अंश । के गर्दै हुनुहुन्छ ? अनेरास्ववियुको २२ औँ महाधिवेशनकै तयारीमा जुटिरहेको छु । अनेरास्ववियुको आसन्न २२ औँ महाधिवेशनमा सचिवालय सदस्यमा तपाईको उम्मेदवारी किन ? अनेरास्ववियुको विगतको दिनमा जुन किसिमको साख थियो, त्यो साख पछिल्लो दिनमा घट्दै गएको छ । त्यो साखलाई फेरि जगाउन तथा जोगाउन, संगठनलाई सुदृढ संगठन, वैचारिक, क्रियाशील संगठन निर्माण गर्न, नेपाली विद्यार्थी राजनीतिलाई अझ सशक्त ढंगले अझ अगाडि बढाउन, नैतिक र व्यवस्थित संगठनको निर्माण गर्न, राष्ट्रभक्तहरुको उत्पादन गर्ने संगठन र समृद्ध राष्ट्र निर्माणसँग शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउन मैले सचिवालय सदस्यमा उम्मेदवारी दिएको हुँ । अनेरास्ववियुको २२ औँ महाधिवेशनलाई कसरी लिनुभएको छ ? यो महाधिवेशन एउटा ऐतिहासिक महाधिवेशन हो । यसले विगतका दिनमा संगठनभित्र लाग्दै आएको अराजकता, गुण्डागर्दीको संगठन भन्ने आरोपलाई कुशल रुपमा व्यवस्थित गर्दै विद्यार्थी आन्दोलनलाइई उचाईमा पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले देशमा बढ्दै गएको विकृती र विसंगतीलाई हटाउँदै नयाँ नेपाल निर्माणको लागि यो महाधिवेशनको महत्वपूर्ण भूुमिका रहन्छ । तपाईलाई त नविना लामाको पक्षधर पनि भनिन्छ ? नविनालाई तपाईको समर्थन चाहिँ किन नि ? म कुनै व्यक्तिको भन्दा पनि कुशल र व्यवस्थित संगठन निर्माण गर्न सक्ने हैसियत र संगठनमा योगदान पुर्याएका व्यक्तिको समर्थक हो । नविना लामा जो २२ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार पनि हुनुहुन्छ उहाँलाई मैले समर्थन गर्नुको कारण धेरै छ । तपाईलाई पनि थाहा हुनुपर्छ कि नविना लामाको चरित्रमा कुनै पनि किसिमको दाग छैन । अरु विद्यार्थी संगठनलाई भन्दा अनेरास्ववियुलाई व्यवस्थित गर्न, संगठनलाई अग्रगामी दिशामा लैजान, नेपाली विद्यार्थी आन्दोलनलाई मुलप्रवाहमा लैजान सक्ने क्षमता नविना लामामै छ त्यसैले मैले नविना लामालाई समर्थन गरेको हुँ । उसो भए अनेरास्ववियुको अबको अध्यक्ष नविना लामा नै हो त ? त्यसमा दुईमत नै छैन । अनेरास्ववियु भित्रका सबै विद्यार्थीहरु नविना लामाको कुशल नेतृत्व र विचारबाट प्रभावित छन् । कामबाट प्रभावित छन् त्यसैले अब नविना नै अनेरास्ववियुको अध्यक्ष बन्नेमा म ढुक्क छु । अनेरास्ववियुमा त नेतृत्व गर्ने क्षमता भएकाले भन्दा गुण्डागर्दी गर्नेले पो नेतृत्व लिन्छ भन्ने सुनिन्छ नि ? । त्यो आधारहीन आरोप मात्रै हो । नेकपा एमाले राज्यको दिशा निर्देश गर्ने पार्टी हो । राज्यको दिशा निर्देश गर्न सक्ने क्षमता भएको पार्टीको विद्यार्थी संगठनभित्र त्यस्तो हुनै सक्दैन । संगठनभित्रको गुटबन्दीले त पार्टीले सकिन थाल्यो भन्ने पनि छन् नि ? गुटबन्दी पनि के मा भन्ने हुन्छ । हाम्रो विचारमा, लक्ष्यमा, योजना र काम गर्ने शैलीमा कुनै गुटबन्दी छैन । गुटबन्दी त केवल नेतृत्व चयनमा मात्रै छ । त्यतिले कसरी सकिन्छ पार्टी र संगठन ? जब विचार, लक्ष्य र योजनामै गुटबन्दी हुन्छ तब भने पार्टी र संगठनमा पनि असर पर्छ । तर अहिलेको अवस्था त्यस्तो होइन । नेतृत्व दुई जनाले चाहेकाले मात्रै यस्तो देखिएको हो । अन्तमा ? नेपाली विद्यार्थी राजनीतिलाइ मुलप्रवाहमा लैजान, संगठनको साखलाई गिराउन नदिन र संगठनलाई व्यवस्थित बनाउन मैले अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सचिवालय सदस्यमा उम्मेदवारी दिँदै छु । सबै साथीहरुलाई साथ र सहयोगको लागि अनुरोध गर्न चाहन्छु ।