मन्त्रालयको भागवण्डा टुंगिन बाँकी
हिजो सम्म राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने रट लगाइरहेको नेकपा माओवादी केन्द्र अन्ततः बहुमतीय सरकारको नेतृत्व गर्न तयार देखिएको छ । एमालेलाई सरकारमा सहभागी गराउन छलफल गरिने भने पनि काँग्रेससँगको गठजोडमा नयाँ सरकार बनाउने प्रयासमा देखिन्छ । सकभर एमालेलाई सरकारमा ल्याउने नभए काँग्रेससँग मिलेर सरकार बनाउने योजनासहित उसले एमालेसँगको सत्ता सहयात्रा औपचारिक रुपमा टुंग्याएको छ । अब नयाँ सरकार गठनको प्रक्रियाका विषयमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग गरिएको कुराकानीको सम्पादित अंश ।Mahara 3
सरकार छोड्न किन हतार गर्नुभएको ?
यो हतार होइन । हामीले नीति तथा कार्यक्रम आउनु अघि नै यो विषय उठाएका हौं । झण्डै तीन महिना पुग्यो । लामो तयारी र छलफल बहस सहित यो निर्णयमा पुगिएको हो। योजनावद्ध ढंगले सोचेर गरिएको हुँदा यो सुविचारित निर्णय हो ।
यहि सरकारलाई राष्ट्रिय सहमतिको बनाउँदा के बिग्रन्थ्यो र ?
हामीले पनि त्यहि भनेका हौं । अहिलेसम्म हामीले पर्खिएको पनि त्यहि भएर हो । तर प्रधानमन्त्री केपी ओलीले यो विषयमा प्रयास नै गर्नुभएन । सहमति नहुँदा राष्ट्रिय संकट उत्पन्न हुने देखेर हामीले उहाँहरु पनि सहभागी भएको राष्ट्रिय सहमतिको सरकारको नेतृत्व हामी गर्छाैं भनेर पहल थालेका हौं । अब नेकपा एमाले पनि बाहिर बसोस भन्ने हामी चाहंदैनौं । उसलाई पनि समेटेर अघि बढ्छौं ।
तपाइहरुलाई काँग्रेसले समर्थन गरिसकेको हो ?
हो, काँग्रेसले समर्थन गरिसक्यो । काँग्रेसले पहिलो चरणमा हाम्रो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरेको र समर्थन गरेको पत्र हामीले प्राप्त गरिसकेका छौं ।
त्यसो भए अब प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भयो ?
हो पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि अरु चरणका बारेमा सहमति हुँदै जान्छ ।
प्रचण्ड नेतृत्वकै सरकारले चुनाव गर्न सक्छ कि आलोपालो गर्ने हो चुनाव ?
तीन वटा मध्ये कम्तीमा एउटा चुनाव यो सरकारले गर्छ । हामी छलफलमा छौं । यस विषयमा हामी भोलीसम्म विस्तृत सहमतिमा पुग्छौं ।
एमालेलाई सहमतिमा आउन कहिलेसम्म पर्खिनुहुन्छ?
आजै देखि हामीले अपिल गरिरहेका छौं । एमाले भित्र पनि यो विषयमा छलफल भइराखेकै छ । केपी ओलीको सरकार अहिले अल्पमतमा परेकाले उहाँले राजीनामा गरेर बाटो खोल्दिनुभए राम्रो हुन्छ । त्यसो नभए फेरि संसदमा अविश्वासको प्रक्रियामा जान्छ । तर छिटो नयाँ सरकार गठनको प्रक्रियामा जाँदा सहज हुन्छ त्यसैमा सहयोग र समर्थन गर्न हामी प्रधानमन्त्रीलाई आग्रह पनि गर्छाैं ।
आन्दोलनरत मधेशकेन्द्रित दलहरु पनि आउँछन् सरकारमा ?
ल्याउनुपर्छ भन्ने हो । हामीले छलफल गरिरहेका छौं र पहल पनि गर्छाैं ।
कहिलेसम्म बन्छ त नयाँ सरकार ?
समय त ठ्याक्कै भन्न सक्दिन तर छिटो भन्दा छिटो नयाँ सरकार बन्नुपर्छ।
मन्त्रालयको भागबण्डा मिलिसकेको हो ?
प्रारम्भिक छलफल मात्रै हो । सबैचिज मिलिसक्यो भन्ने होइन । छलफल र बहस चल्दैछ।