अमेरीका


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 5:39 a.m.

FORMAT: Text only

SIZE: 11.5 kB

HITS: 404

  1. देश फिर्नु भएछ, फेरि विदेश फर्कने योजना छ कि छैन ?
  2. मेरो ग्रीनकार्ड भएकाले म फिर्नु पर्छ । चैतको एक गते जाँदै छु । यो ग्रीनकार्ड को क्यारेक्टर भनेको परमानेन्ट रेसिडेन्स हुनका लागी ६ महिना यहाँ बसेपनि छ महिना अनिवार्य त्यहाँ वस्नुपर्छ । ग्रीनकार्ड नभएको भए छ महिनामानै फर्कनुपथ्र्यो । म त्यहाँ कमाउन गएको होइन । श्रीमती काम गर्छिन् म यहाँ पनि रिटायर भएको मान्छे । त्यहाँ बसेर लेख्ने काम गर्छु । केटाकेटीलाई इन्ट्री गराउन सजिलो हुने भएकाले पनि त्यहाँ बस्नुपर्छ ।
  3. बुद्धिजिवी सर्कलका मान्छेले यसरी देश छोड्नु कत्तिको सान्दर्भिक छ । छोराछोरी पनि उतै स्थापित गराउने कुरा पनि गर्दे हुनुहुन्छ फेरि ?
  4. मलाई मेरो बुवाले अमरपुर पाँचथरबाट बसाई सारेदेखी मैले बसाईं सर्ने क्रम र मेरा छोराछोरी पनि बसाईं सर्ने क्रम निरन्तर जारी छ । ०६४ सालमा झापाबाट म काठमाडौं आएँ । अहिले अमेरिका पुगें । मेरो बुवाले गाउँ छोड्दा पनि प्रश्न आएको थियो । मैले झापा छोड्दा पनि मोफसल र काठमाडौंको झगडा गर्नेले काठमाडौ जाने, चर्चित लेखक बनिसकेपछि काठमाडौं जानैपर्छ र ? भन्ने प्रश्न पनि आए । अहिले सिंगै देशले किन देश छोडेको भनेर प्रश्न गरिरहेको छ ? प्रश्न र तर्क ठिकै हो ? मैले आफैं पनि यस्ता धेरै प्रश्न गरें ।
  5. सामाजिक दायित्व सहितका मान्छेको व्यक्तिगत र पारिवारिक दायित्व पनि हुन्छन् । देशको सिस्टमले बाँध्नुपर्ने हो । मैले बाँध्न सक्दिन । देशले देशभित्रै वस्ने वातावरण बनाउनुपर्ने हो । म जन्मेको पृथ्वीमा हो । पृथ्वी नै घर हो र म धरावासी हुँ । मैले ३५ सालमा नै आफूलाई धरावासी भनेको हुँ जबकी मेरो कतै अन्त बसाई जाने सोच बनेकै थिएन ।
  6. देशबाहिर गएका कृष्ण धरावासीले डायस्पोरीक कलम चलाउँछन्, अबको उनको साहित्यिक यात्रा डायस्पोरीक हुन्छ भन्ने हल्ला पनि सुनियो नि ?
  7. नेपालमै छँदा गेस्टापो लेखें जसको विषयवस्तु जर्म्निको होलोकोष्टमाथि लेखें, यात्रा संस्मरण पनि लेखें । अहिले मस्को यात्राको यात्रा संस्मरण र एउटा अमेरिकाको नेपाली लाइफको डायस्पोरीक पिडाका बारेमा छ र यो किताबमा म पर्यवेक्षक मात्र छु । अहिले नेपाली साहित्यले डायस्पोराको मुद्दालाई एनआरएनको क्राइटएरियामा राखेको छ । एनआरएनले सार्क मुलुकलाई डायस्पोरा मान्दैन । नेपालमा छँदानै विदेश घुमेर लेखेको साहित्य वा विदेशमै बसेर लेखेको नेपाली साहित्य कुन डायस्पोराको अर्थ भित्र पर्छ परिभाषित गर्नेलाई नै थाहा छ । उसो त भारतबाट नै नेपाली डायस्पोरा साहित्य लेखन शुरु भएको पनि मानिएको पाइन्छ ।
  8. राधा उत्तरआधुनिकतावादमा छ भन्ने कुरा मान्नुहुन्छ कि मान्नुहुन्न ? राधा कृष्णको कथा फरक धारमा लेख्ने सोच कसरी बन्यो ?
  9. मैले साहित्यका सिद्धान्त पढेर योजनाबद्ध रुपमा केहि लेखेको होइन । यस्ता कुरा पाठक र समालोचक बाट आएको कुरा हो । २०४८ सालमा मेरो निबन्ध संग्रह ‘बालक हराएको सूचना’ को समीक्षा गर्दा कृष्ण गौतमले नेपाली साहित्यमा देवकोटा र शंकर लामिछाने पछि धरावासीका निबन्ध नयाँ रुपका आए भनेर लेख्नुभयो र यो मधुपर्कमा छापिएको थियो । मैले नयाँ लेखुँ भनेर लेखेको होइन । आफैं हुन गएको हो ।
  10. शरणर्थी उपन्यासलाई पनि अन्तराष्ट्रिय स्तरको विषय उठान भएको भनियो । मैले त मौलिक कुरा र घटनाक्रम मात्र साहित्यमा लेखेको हो । राधाको सन्दर्भमा भने म पूर्वी साहित्य पढ्ने मान्छे । पहिला देखिनै अध्यात्म साहित्यमा रुचि थियो । सानैदेखी पुराण सुन्न जान्थें । राधा र कृष्णलाई जोडी बनाएर नचाइरहेको देख्थें । मनमा राधा र कृष्णको सम्बन्ध साँच्चै के हो त ? भनेर प्रश्न उठ्थ्यो । त्यही पत्ता लगाउन सबै पुराण जम्मा गरेर तीन बर्ष जती पढें । पुराण भरि राधा र कृष्णको सम्बन्ध प्रष्ट भेटिएन । हाम्रो सामाजिक हिसाबले गैरकानुनी कुरालाई किन समाजमा छरियो र गरियो भनेर नारी स्वतन्त्रताका विषयमा र चमत्कारी कृष्णको व्यक्तित्वबाट चमत्कार झिकेर साधारण पुरुषको बारेमा लेखेको हुँ ।
  11. त्यो समय राधा ले नै मदन पुरस्कार किन पाएको होला ?
  12. त्यो वर्ष बजारमा निस्किएका र पुरस्कारका लागि दर्ता गरिएका पुस्तक मध्ये एकले मदन पुरस्कार पाउने हो । साझा प्रकाशनले राधा छापेको हो । उसैले मदन पुरस्कार गुठीमा पुस्तक दर्ता गराएको हो । मैले बुझेको अनुसार त्यस वर्ष त्यहाँ पुगेका पुस्तक मध्य राधा राम्रो भएर नै होला । मदन पुरस्कार गुठीका अरु पनि केहि आधार हरु होलान कि ? मलाई थाहा छैन ।
  13. मदन पुरस्कार पाउँदाको अनुभव कस्तो रह्यो ? एउटा साहित्यकारको जिवनमा यो पुरस्कारको कस्तो महत्व छ ?
  14. एउटा सत्य के भने म आफूलाई साह्रै अण्डरस्टमेट गर्दो रहेछु । यसका पनि फाइदा रहेछन् । उचाईमा पुग्दा फाइदा भयो, नपुग्दा पनि म त त्यहीं छु । म झापामा बसेको मान्छे । काठमाडौंमा मेरो पहुँच नै थिएन । मदन पुरस्कार पाउने त के यो किताब व्यान्ड हुन्छ भन्ने लागेको थियो । एक त राजा ज्ञानेन्द्रको शासनकालमा दरबारले नै हिन्दु धर्मको पक्षमा काम गरिरहेको बेलामा राधा लेखिएको थियो । अर्को माओवादी जंगलमा थियो । विम्ब खेलाउँदा त सबै कुरा मिल्ने थियो । नसोचेको कुरा प्राप्त भयो । परिवारका सबै खुसी भयौं । त्यतीबेला दुई लाख ठूलो थियो । मेरो आधा बनाएर छोडेको घर फिनिसिङ गरिसक्दा पनि पैसा उब्रिएको थियो ।
  15. त्यसोभए अनुत्पादक भनिने साहित्यिक क्षेत्र उत्पादक नै हो त ?
  16. मेरो जागिरले मेरो दैनिकी टारेको मात्र थियो । साहित्यका पुरस्कार र रोयल्टीबाट नै मेरो प्रगति भएको हो । हालसम्म मैले लेखेका पच्चीसवटा किताबमा पन्ध्र वटा जती किताब रि–प्रिन्ट भैरहन्छ । २५ हजार देखी २ लाख सम्मका पुरस्कार नै डेढ दर्जन पाए मैले । अहिलेका साथीले त थुप्रै रोयल्टी पाउँछु भन्नुहुन्छ । यो एकदमै खुसीको कुरा हो । साहित्यले नै विदेश घुमाएको पनि छ ।
  17. साहित्यले विदेश घुमायो भन्नुहुन्छ , धरावासी श्रीमतीको पछि लागेर विदेश गयो भन्ने चर्चा सामाजिक सञ्जालमा चुलिएका थिए नि ?
  18. सिताजी स्वर्गीय भएपछि डेढ वर्ष मेरो दिनचर्या निकै कष्टले विते । सासुआमाले उमेर अझ बढेपछि केटि पाईँदैन, मरिहालिने पनि होइन ,एक्लै जिवन जिउन गाह्रो हुन्छ । बिहे गुर्नस् भनेर कर गर्नुभयो । पछि छोराछोरीले पनि बिहे गर्नुपर्छ भने । सिताजी भन्दा कम उमेर नभएकी, बिहे भएर डिभोर्स वा विधवा भएकी महिला खोज्दा मञ्जुजीलाई भेटियो । अमेरिकामा भएका उहाँका दाजुले त्यहीं बाट बहिनीको नाममा डिभी भरिदिनुभएको रहेछ । बिहे गरेपछि मञ्जु जी लाई डिभी पर्‍यो । उहाँको पनि सोह्र बर्षको बच्चा छ । उसको भविष्यको लागि पनि उहाँ जान चाहनु भयो । मैले तिमीहरु आमा छोरा जाउ म जान्न भन्न मीलेन म पनि श्रीमती संगै अमेरिका गएँ ।
  19. रह्यो कुरा सामाजिक सञ्जाल र मिडियाको म लेख्ने, मिडियामा आइरहने मान्छे । मेरो उमेर पनि छ, म सक्रिय छु, लेखिरहेको छु र आफ्नो बारेमा बताइरहन्छु । नेपाली साहित्यमा कलम चलाउने को को कहाँ छन् त ? के सबैको खोजी हुन्छ । मेरो पनि खोजी हुन छोडिसकेको थियो । मेरो जिवनमा दुर्घटना भयो । सिताजी बितेपछि म एक्लो भएँ । दुखी भएर म घरमा बसेको बेला तपाईंलाई कस्तो छ ? स्वास्थ्य कस्तो छ ? भनेर सोध्ने एक कल फोन आएन । कहाँ छन् डा. तारानाथ शर्मा यो देशलाई थाहा छ कि छैन ? कि पत्रकार लाई थाहा छ ? अमेरिकाको टेक्सासमा छन् ८५ बर्षका बुढा । तारानाथ शर्माले लेखेका लेखेका किताब सय भन्दा बढी टि यु का कोर्स अफ स्टडीमा छन् । त्यो बेला तारानाथ शर्मालाई खोज्नेले आज पनि खोज्नु पर्ने हो नी, उनी जिउँदै छन् त ।
  20. आफ्नै कथा चलचित्र बनाउने प्रस्ताव आउँदा, आफ्नै कथाबस्तुमा बनेको चलचित्रमा अभिनय गर्दा कस्तो अनुभव भयो ? बताइदिनुस् न ।
  21. यादव भट्टराईले ६३ सालमा यो कथा फिल्म बनाउन कागज गरेको हो । त्यतीबेला उनले तपाईंले जुन खाटमा बसेर कथा लेख्नु भयो त्यही खाटबाट फिल्म शुरु हुनुपर्छ भनेको हो । कथामा लेखक पनि भएकाले र सीताजी पनि भएकाले मैले र सीताजी दुवैले अभिनय गर्नुपर्छ पनि भन्नुभएको थियो उहाँले । सात वर्ष सम्म फिल्म बनेन । सिता जी पनि वित्नु भो । फिल्म अर्कोलाई दिने कुरामा विवाद पनि भयो । कानुनी रुपमा उहाँ दह्रो हुनु भएकाले उहाँले नै फिल्म बनाउनु भयो । सिताजिको नाममा समर्पण गरेर मञ्जु जी ले मेरी श्रीमतीको रुपमा अभिनय गर्नुभयो ।
  22. म कलाकार त होइन । रमाइलो के भयो भने झोला फिल्म संसारभरि हेरियो, लोकप्रिय भयो । लेखक त्यही हो भनेर चिने खुसी लागेको छ । मैले दुःख गरेर बनाएको घरमा सुटिङ भयो । फिल्ममा मेरो ठूली दिदि, मेरा भतिजा भतिजी छन् । त्यो घर एक दिन भत्केला । हामी नरहौंला तर फिल्ममा मेरो घर परिवार अमर भयौं ।
  23. झोला नै फिल्मका लागि किन छनौटमा परेको होला ? तपाईंका अरु कृति पनि राम्रा थिए नि ?
  24. कथाबस्तु जबरजस्त भएकाले पनि यो फिल्मका लागी छनौटमा परेको हुन सक्छ । फेरि फिल्मका लागि ठूला किताबले काम नदिने रहेछ, धाराबाहिकका लागि काम लाग्ने रहेछ । साना कथा वस्तु नै फिल्म बन्ने रहेछ । झोलाको पनि सबै संवाद फिल्ममा कहाँ प्रयोग भएको छ र । झोला कथाको फिल्म बनेपछि कथाको पारिश्रमिक मात्र मैले २ लाख ५० हजार पाएँ । कुनै नेपाली कथाले यती पारिश्रमिक पाएको छैन होला । समग्रमा एउटा झोलाबाट मैले पन्ध्र लाख भन्दा बढी कमाएँ हुँला । झोला किताबबाट पाँच लाख भन्दा बढी कमाएँ । सतीको सराप भन्थे मलाइ त सतीको आशिर्वाद लागेछ ।
  25. आफ्नै रचना मध्य सबैभन्दा प्रिय कुन पुस्तक हो ?
  26. उपन्यासमा शरणर्थी, कथामा झोला र निबन्धमा नारी भित्र त्यस्तो के छ हजुर ।
  27. मदन पुरस्कार जिताउने राधा किन प्रियमा परेन ?
  28. राधाले नेपाली जनजीवनलाई प्रतिनिधित्व गर्दैन । नेपाली परिवेश अनुसार कलम चल्नु अलग कुरा हो । शरणार्थीले नेपालीका पीडाको प्रतिनिधित्व गर्छ । यसमा हजुरबुवाको पालाको देश खोज्दै आउने शरणार्थीका पिडा छ । झोलामा नेपाली महिलाले भोगेको दारुण अवस्था छ । नारी भित्र के छ हजुर मा पनि आफ्नै गाउँमा बलात्कार पछि मारिएकी चेलीलाई अफिस जाँदा देखें र एकै बसाइमा मैले लेखेको निबन्ध हो जसले धेरै चर्चा पायो । ०४८ सालमा लेखिएको त्यो निबन्ध, आज पनि दिनहुँ त्यसता घटना भैरहेको समाचार सुन्नु परेको छ ।
  29. झोला जस्तै अरुले रचना गरेको कुन कृतिको फिल्म बन्नुपर्छ भन्ने लाग्छ ?
  30. गुरु प्रसाद मैनालीको नासो नै छ नी । मैले झोला पनि फिल्मका लागि साइन गर्दा फिल्मीकरण गर्न गीत, कमिक्स नाच मिसाउन नपाइने सर्तमा गरेको थिएँ । फिल्म चल्यो पनि, ओस्कारमा गयो पनि जित्नुनजित्नु अर्को कुरा हो । अमेरिकाका हलमा फिल्म हेरेर मान्छे रुन्थे । दोभाषे राखेर मैले उनीहरुसंग कुरा गरें पनि । आखिर अन्तराष्ट्रिय स्तरमा हाम्रो नेपाली फिल्मले चर्चा पायो ।
  31. आजका अत्याधुनिक दर्शक जो चाइनिज, कोरियन, थाई लगायत विश्वव्यापी अत्याधुनिक विषयवस्तुका फिल्म हेर्छन् । तिनकालागि बनिनु पर्छ नेपाली फिल्म पनि । सस्तो विषयवस्तुमा नाचगाना मिसाइएका फिल्म हलमा दुई दिन पनि नटिक्ने अवस्था बन्छ ।
  32. पाठक भएर हेर्दा कृष्ण धरावासी कस्तो लेखक हो ?
  33. कृष्ण धरावासी राजनीतिक सुझबुझ भएको लेखक हो । जसले राजनीतिक, सामाजिक, महिला, बालबालिका, वृद्धवृदाका आवाज साहित्यमार्फत उठान गरेको हुन्छ । तपाईं उपन्यासमा अनाथ, भिखारी र पागल भनिनेहरु मेरा पात्र छन् । तीनको सम्बोधन कुन सरकार र राजनीतिक दलले गरेका छन् । मजदुर, किसान, हरुवा, चरुवा रे तीनका त घर थियो नि तीनिहरुको सम्बोधन हुने अनि वेसहारा होस।
  34. भएकाको चाहिँ भोटलिस्टमै नाम नभएका कारण सम्बोधन नहुने किन ?
  35. चराचुरुंगी जनावर सबै नेपाली हुन्छन् भने एउटी पागल महिला नेपाली हो कि होइन । एउटा अनाथ बच्चा नेपाली हो कि होइन । पागल भएर सडकमा आएकी महिलालाई कस्तो समाज र घरले पागल बनायो । सडकमा बलात्कृत भएर जन्मिएको उसको बच्चा नेपाली हो कि होइन ? फोहोर टिपेर खाँदै गरेको अनाथलाई स्कुल पठाउने जिम्मेवारी कस्को ? राज्यको होइन ? यदि सडकको अनाथ भोली छुरा बोकेर हिँडे, अपराधि भए त्यसमाथि मुद्धा चलाउने अधिकार छ राज्यलाई ?
  36. कृष्ण धरावासी खुलेर यौनका कुरा बढी गर्छ र लेख्छ भन्नेहरु पनि छन् नी ?
  37. त्यही टुँडाललाई भनेका त हुन् नी । टुँडाल त मन्दिरहरुमा पहिले देखिनै राखिएका थिए । मैले त लेखेको मात्र हो । विपि ले पनि लेखेका छन् यौनका विषयमा के त्यसले समाजलाई हानी गरेको छ त ? यौनलाई अश्लिल मान्दा समाज र संस्कृति कसरी चल्छ ? चेतनाका लागि पनि यौनका बारेमा थाहा हुनु पर्छ । यौन शिक्षाको कमि चाहिँ यौनजन्य हिँसा मौलाउने हो ।
  38. देश भित्र जस्तै देश बाहिरका नेपाली साहित्यिक गतिविधिमा कस्तो फरक खाले अनुभव गर्नुभयो ?
  39. त्यहाँ सप्ताहविदा दुइ दिन हुन्छ । एक दिन सरसफाइमै विताउँछन् र एक दिन कार्यक्रमका लागि छुट्याउने हो । त्यहाँ चौबिसै घण्टा अँग्रेजी बोल्नुपर्ने हुन्छ, र पनि गाउँ सम्झेर कविता कोरेर साहित्यिक गतिविधि हुन्छ त्यहाँ । थाकेका र नेपाली भषासित प्रशस्त खेल्न नपाउनेले पैसा खर्च गरेर नेपाली साहित्यका लागि कार्यक्रम हुन्छ त्यहाँ त्यही ठूलो कुरा हो । यसरी पर पुग्ने सकिँदैन, जतीन्जेल सक्छन् गरेकै छन् ।
  40. तपाईले अमेरिका बसाइमा तयार गरेर ल्याउनु भएका दुई पुस्तक कस्ता छन् ? पाठकबाट कस्तो प्रतिक्रिया आउला जस्तो लागेको छ ?
  41. अमेरीकाबारे लेख्ने अरुले त्यहाँको समुन्द्री किनार, अत्याधुनिक प्रविधि र सुखको बारेमा धेरै लेखेका छन् । मैले त्यस्ता समृद्ध देशमा जाने नेपालीहरुको पनि दुःख पिडा लेखेको छु अब आउन लागेको पुस्तक ‘ग्रेट फल्स’ उपन्यासमा हुनत हामीले लुकाएको कुरा देखाइस् भनेर गाली पनि गर्लान्, हाम्रा सुख पनि त थिए भन्लान् नै । सुख अरुले लेखेकाले मैले दुःख मात्र लेखेको हुँ भनुँला । अर्को पुस्तक ‘रेड स्क्वाएर’रुष भ्रमणका बारेमा यात्रा संस्मरण हो । एउटा माघको पहिलो हप्ता र अर्को माघको अन्तिम हप्ता सार्वजनिक गर्ने तयारीमा छु । जीवा लामिछाने, अमर न्यौपाने र संजीव उप्रेती जस्ता पाँच सात जनालाई पढ्न दिएँ । सबैबाट एकैखाले प्रतिक्रिया आएकाले आनन्द आएको छ ।

comments powered by Disqus